२८ बैशाख हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध ट्रमाडोलसहित ६ जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी पदमपोखरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरी नजिक शंकास्पद रूपमा बसेका दुई जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यक्तिहरूमा वर्ष २५ का अजित दोङ र वर्ष २१ का बिनय लामा रहेका छन्।
उनीहरूको साथबाट ट्रमाडोलका २५ क्याप्सुल बरामद भएको थियो। अनुसन्धानका क्रममा उनीहरूले लागूऔषध सरिता माझीबाट खरिद गरेको बताएका थिए।
यसपछि प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–२ स्थित नेपाली चुलो होटलमा छापा मारी होटल सञ्चालक सरिता माझीसहित वर्ष २२ का उदेश राई र वर्ष २९ का मनिष तिमल्सिनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २६२ क्याप्सुल ट्रमाडोल र ३० ग्राम गाँजा बरामद भएको छ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय मकवानपुरले अर्को घटनामा हेटौंडा उपमहानगरपालिका–११ निवासी वर्ष २४ का बिनय लामालाई २० ट्याब्लेट ट्रमाडोलसहित नियन्त्रणमा लिएको छ। उनी पूर्व–पश्चिम सडकखण्डमा नवलपुरबाट हेटौंडा आउँदै गरेका थिए।

पक्राउ परेका बिनय लामा
पक्राउ परेका सबैलाई लागूऔषध मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ।