बारा, ५ बैशाख । जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी सुबोन्द्रा वाइवा तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न गिरोहमाथि ठुलो कारबाही गरेको छ।
विशेष सूचनाका आधारमा वैशाख ४ गते राति ११:४५ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीस्थित वीरगञ्ज–पथलैया सडकखण्डमा चेकजाँच गर्दा ३०० केजी लागू औषध गाजाँ बरामद गरिएको हो।
हेटौडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रक र स्कर्टिङ गर्दै गरेको ना ३३ प ७४६९ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा, ट्रकभित्र रातो प्लास्टिकले बेरिएका १६ वटा ठूलो र ३ वटा सानो प्याकेटमा गाजाँ भेटिएको थियो।
पक्राउ पर्नेहरूमा ट्रक चालक मकवानपुरको कैलास गाउँपालिका–४ का ३२ वर्षीय राजन लामा, ट्रकमा सवार हेटौडा उपमहानगरपालिका–३ का ३३ वर्षीय ईश्वर लोप्चन, र मोटरसाइकल चालक कैलास गाउँपालिका–१० का २७ वर्षीय जीवन ठोकर रहेका छन्।
डिएसपी वाइवाको नेतृत्वमा गरिएको यस अपरेशनलाई लागू औषध विरुद्धको अभियानमा ठुलो सफलता मानिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार, सिमरामा पदस्थापन भएको तीन महिनामै डिएसपी वाइवाले लागू औषध कारोबारमा संलग्न तत्वहरूलाई नियन्त्रणमा लिन उल्लेखनीय सफलता हासिल गरेकी हुन्।
डिएसपी वाइवाले समाज, अभिभावक र युवाहरूलाई लागू औषधविरुद्धको अभियानमा प्रहरीलाई साथ दिन आह्वान गरेकी छिन्।