काठमाडौँ। स्वयम्भूस्थित हलचोक सडकमा इभी भाडा बसको ठक्करबाट स्थानीय समाजसेवीको निधन भएपछि चन्द्रागिरि क्षेत्र उत्तप्त बनेको छ।
दुर्घटनामा परेर चन्द्रागिरि नगरपालिका–१२ बलम्बुका ५९ वर्षीय समाजसेवी पुरुषोत्तम महर्जनको निधन भएको छ भने घटनाप्रति नगर प्रमुखले बेवास्ता गरेको भन्दै आक्रोशित स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेका छन्।

प्रहरीको प्रारम्भिक प्रतिवेदन अनुसार साउन २७ गते (बुधबार) अपराह्न १४:४५ बजे काठमाडौँ महानगरपालिका–१५ स्थित हलचोक सडक खण्डमा दुर्घटना भएको थियो। हलचोकबाट वनस्थलीतर्फ जाँदै गरेको बा.प्र.०१००७ ख ११५१ नम्बरको इभी भाडा बस र भित्री सडकबाट हलचोक मुख्य सडकतर्फ निस्कँदै गरेको बा.प्र.०२०१५ प ७९७८ नम्बरको स्कुटर एक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा स्कुटर चालक महर्जन गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि तत्काल मनमोहन अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा सोही दिन अपराह्न १६:३७ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
प्रदर्शन र चन्द्रागिरि नगरपालिका घेराउ
समाजसेवी महर्जनको असामयिक निधनपछि साउन २८ गते (बिहीबार) बिहानैदेखि स्थानीयवासीले गुर्जुधारा क्षेत्रमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए।
त्यसपछि आक्रोशित स्थानीय तथा पीडितका परिवारजन चन्द्रागिरि नगरपालिका कार्यालय पुगेर घेराउ र नाराबाजी गरेका हुन्। नगर प्रमुख घनश्याम गिरीले आफ्नै नगरका नागरिकको दुर्घटनामा निधन हुँदा समेत कुनै चासो नदेखाएको, पीडित परिवारलाई भेट्न नआएको र पूर्ण उदासीनता देखाएको भन्दै स्थानीयले कडा आक्रोश व्यक्त गरेका छन्।
स्थानीयवासीका अनुसार:”आफ्नो नगरको अभिभावक मानिने नगर प्रमुखले नागरिकमाथि परेको यति ठूलो विपत्तिमा समेत देखाएको बेवास्ता दुःखद छ। जनप्रतिनिधिले यस्तो उदासीनता देखाउन मिल्दैन।”
स्थानीय तथा पीडित पक्षका मागहरू
प्रदर्शनकारीहरूले सम्बन्धित निकाय र नगरपालिकाको ध्यानाकर्षण गराउँदै निम्न मागहरू राखेका छन्:
- दोषीमाथि कारबाही: दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषी बस चालकलाई कानुनबमोजिम कडा कारबाही गरियोस्।
- उचित क्षतिपूर्ति: पीडित परिवारलाई अविलम्ब क्षतिपूर्ति तथा राहतको व्यवस्था गरियोस्।
- सडक सुरक्षा: भविष्यमा यस्ता घटना दोहोरिन नदिन नगरभित्रका मुख्य तथा सहायक सडकहरूमा आवश्यक सुरक्षाका उपायहरू अविलम्ब लागू गरियोस्।
प्रहरी अनुसन्धानको अवस्था
सुरुमा इभी बसका चालक फरार रहेको बताइएको भए पनि पछि प्रहरीले दुर्घटनामा संलग्न सवारी साधन, चालक तथा सहचालकलाई नियन्त्रणमा लिइसकेको जानकारी पीडित परिवारजनले दिएका छन्।
दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरी वृत्त स्वयम्भूबाट थप कानुनी अनुसन्धान भइरहेको छ।
तस्बिरहरू
