• ट्रेण्डिङ :

हलेसी तुवाचुङ नगरपालिमा खुकुरी प्रहार गरी फरार भएका दुई जना पक्राउ

हलेसी तुवाचुङ नगरपालिमा खुकुरी प्रहार गरी फरार भएका दुई जना पक्राउ

cnewsnepal

बुधबार, भाद्र २ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


खोटाङ । प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीकी ३८ वर्षीया सानिका राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार बनेको आरोपमा प्रहरीले स्थानीय दुई युवालाई पक्राउ गरेको छ ।

गत साउन १३ गते राति करिब १० बजे सुतिरहेको अवस्थामा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको आरोपमा सानिकाकै दिदीको छोरा २८ वर्षीय टिशन राई र सोही स्थानका २७ वर्षीय मने भनिने कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग कसुर अन्तरगत मुद्दा दर्ता गरेर कारबाहीको लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख उमेश लम्सालले बताए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका टोलीले उनीहरुलाई मङ्गलबार दिउँसो ३ बजे आ–आफ्नै घरमा लुकिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालको भनाई छ ।

“पक्राउ परिएका उनीहरु दुवै जनाले घटनाबारे स्वीकार गरिसकेका छन्”, उनले भने, “उनीहरुले प्रयोग गरेको धारिलो हतियार खुकुरी र रगत लागेको कपडा भेष्ट समेत सार्कीको घरबाट बरामद गरिएको छ ।”

खुकुरी प्रहारबाट गम्भीर घाइते सानिकाको ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार