२४ मंसिर, बाँके । बर्दियाबाट झन्डै २९ तोला सुनका गरगहनासहित प्रहरीले बाँकेका दुई जनालाई पक्राउ गरेको छ ।
पक्रँउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका –१९ राँझाका २९ वर्षीय मोहन विक र बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवा बस्दै आएका ३८ वर्षीय देवेन्द्रबहादुर घर्तीलाई प्रहरीले सुन सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–८१६८ नम्बरको कारसहित उनीहरू स्रोत नखुलेको २८ सेट सुनका गरगहनासहित पक्राउ गरिएको बताए।
गोप्य सूचनाका आधारमा पुगेको जिल्ला र इलाकाको संयुक्त गस्ती टोलीले बारबर्दिया नगरपालिका–९ कर्तनियाघाटस्थित चेकप्वाइन्टमा उनीहरूलाई पक्राउ गरेको एसपी शाहीको भनाई छ ।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेका व्यक्ति र बरामद स्रोत नखुलेका सुनका गरगहना भन्सार कार्यालय राजापुरको जिम्मा लगाइएको जनाएके छ ।