लैनचौरमा ‘नागरिक सहायता कक्ष’को शुभारम्भ

काठमाडौँ, ३० वैशाख । सेवाग्राहीलाई छिटो, छरितो र उत्कृष्ट सेवा प्रदान गर्नका लागि ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ ।

काठमाडौँ महानगरपालिका–१७ को रु पाँच लाख ५० हजार आर्थिक सहयोगमा महानगरीय प्रहरी वृत्त लैनचौरमा स्थापना भएको उक्त कक्षको आज महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उद्घाटन गरेका हुन ।

कार्यक्रममा परिसर प्रमुख सुवेदीले शान्त, सुरक्षित र सभ्य समाज निर्माणका लागि नेपाल प्रहरी र आम नागरिकको उत्तिकै भूमिका रहेको बताए । “व्यक्तिलाई समाजले नै अपराधी बनाउने भन्दै राम्रो समाज निर्माण गर्नसके अपराधमा कमी आउँछ,”–उनले भने ।

उनले सामाजिक विकृतिका कारण समाजमा अपराध बढेको भन्दै यसको न्यूनीकरणका लागि प्रहरीसँग समुदायको हातेमालो आवश्यक रहेको उल्लेख गरे ।

परिसर प्रमुख सुवेदीले पछिल्लो समय लेनदेन, ठगी र बलात्कारका घटना बढेको भन्दै उक्त घटना न्यूनीकरणका लागि प्रहरीले कानूनी कठोरताका साथ काम गर्ने बताए ।

काठमाडौँ महानगरपालिका–१७ का कार्यवाहक अध्यक्ष जीतेन्द्र खड्गीले समाजमा हुने विकृति, विसंगती र अपराध नियन्त्रण गर्न स्थानीय सरकारले नेपाल प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

नागरिकलाई सहज सेवा दिन स्थापना भएको सहायता कक्ष निर्माणका लागि काठमाडौँ महानगरपालिका–१७ ले रु पाँच लाख ५० हजार, वृत्तको रु एक लाख र सिमल डेकोर नयाँबजारले रु एक लाख ४७ हजार मूल्य बराबरको फर्निचर सहयोग गरेको वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।