आज भन्दा करिब तीन दशक अघि नेपाल टेलिभिजनमा चेतनामुलक भिडियोहरु प्रशारण हुन्थ्यो । एक जना किसान मुखियाकोमा ऋण लिन जान्छन्, भर्खर अक्षर चिन्दै गरेकि छोरीले म पनि मुखियाको घरमा संगै जान्छु भनेर जिद्दि गर्छिन र वाउ सङ्गै जान्छिन । किसानले मुखिया सङ्ग ५०० ऋण माग्छन, मुखियाले तमसुक बनाउछन्, ति छोरीले तमसुक कनिकुथि पढछिन् र तमसुकमा ५०० को ठाउमा ५००० लेखिएको छ भन्छिन । मुखियाले हाँस्दै बुढो भए आँखा कमजोर भएर एउटा शुन्य वढि भएछ भन्दै तमसुक सच्याउछन । त्यो भिडियोले त्यतीखेर छोरीलाई पनि स्कुल पढ्न पठाउनु पर्छ भन्ने सन्देश सङ्गै तत्कालीन समयको शोषणको अवस्थालाई उजागर गरेको थियो । आफु केटाकेटी हुदा निकै चाख दिएर छिमेकिको घरको टिभीमा हेरेको त्यो भिडियो स्मरण हुनाको कारण अहिलेको मिटर ब्याज पिडितहरुको सन्दर्भले हो । देशले प्रविधीमा, आर्थिक, शैक्षिक, भौतिक र सामाजिक लागायत सबै क्षेत्रमा ठुलो परिवर्तन सहित फड्को मारिसकेको अवस्था छ । गणतन्त्र आएसङ्गै देशमा झन्डै १७ वटा सरकार बनेछन । यतिका नेतृत्व परिवर्तन भएपनि त्यतिखेरको त्यो भिडियोले अझै सार्थकता पाउन सकेको देखिएन । शोषण गर्ने तरिका मात्रै बदलिएको रहेछ शोषितहुने क्रम त रोकिएको रहेनछ । यसरी सयौको संख्यामा मिटर ब्याज पिडितहरु हप्तौदिन हिडेर न्याय खोज्न काठमाडौं आउदै गर्दा उनिहरुको लागि राज्य काँहा छ, प्रहरी प्रशासन काँहा छ, गणतन्त्र ल्यायौ भनेर कुर्लीनेहरु काँहा छन् । यति सम्म भइसक्दा स्थानिय सरकार काँहा थियो । न्याय माग्न काठमाडौं नै आउन पर्ने भएपछि संघियता किन, स्थानिय सरकार किन । यसरी खुल्लेआम जनता शोषण गर्ने आधुनिक पद्दतिलाई सबैपक्षबाट किन पृष्ठपोषण भइरहेको छ । शिक्षा र चेतनाको कमिले मात्र यस्तो भएको हो वा अन्य कारणहरु पनि छन् अनि यस्को उचित सम्वोधन र उचित समाधानका प्रयासहरु किन भएनन् । यो घटना अहिलेको मात्र नभएर केहि बर्ष अगाडि देखिको हो । अहिले सम्म समस्या समाधान भएर पिडितले न्याय र पिडकलाई कारवाही हुनुपर्नेमा झन् धेरै पिडितको संख्या थपिनुले समस्त राज्य प्रणालीलाई गिज्याई रहेको छ ।