काठमाडौँ । हवाई मार्ग हुँदै नेपालमा लागू औषध भित्र्याउने नयाँ शैली (प्रवृत्ति) को खुलासा भएको छ।
लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोग्राम थाई गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा भारतको पञ्जाब ठेगाना भएका ३६ वर्षीय संजीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्।
साउन २६ गते राती ‘क्याथे प्यासिफिक’ को उडानद्वारा थाइल्याण्डको बैङ्ककबाट हङकङ हुँदै नेपाल आएका उनीहरूलाई आगमनतर्फको भन्सार क्षेत्रबाट पक्राउ गरिएको हो। उनीहरूले आफूसँग ल्याएको गाँजा लुकाइएका लगेजहरू भन्सार क्षेत्रमै छाडेर भाग्न खोज्दा प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।
ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार विदेशी यात्रुहरूको सूक्ष्म निगरानी र पहिचान गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्न् ।लागू औषध नियन्त्रण ब्यूरोका प्रवक्ता दुर्गा राज रेग्मीले भने, “थाइल्याण्डबाट गाँजा ल्याउने भारतीय नागरिकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेपश्चात् पक्राउबाट बच्न आगमनतर्फको भन्सार क्षेत्रमा लगेज छाडी जाने र केही दिनपछि नेपाली एजेन्टमार्फत दाबी (क्लेम) गरी लैजाने योजना बनाएको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका प्रतिवादीहरूमाथि थप अनुसन्धान भइरहेको छ।”
प्रहरीले उनिहरूकाे साथबाट राहदानी (पासपोर्ट): २ थान,मोबाइल: २ थान,झोला: ४ थान बरामद गरेकाे छ ।
प्रहरीले यस प्रकरणमा जोडिएका अन्य सम्भावित व्यक्तिहरू र नेपाली एजेन्टहरूको समेत खोजी कार्य जारी राखेको जनाएको छ।