राेसन दानी, २२ जेठ, चन्द्रागिरि । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वार चन्द्रागिरी नगरपालिका विकासको गतिमा अघि बढिरहेको देखिन्छ, तर त्यससँगै बढेको छ – अनियन्त्रित फोहोर, प्रदूषण र अव्यवस्थाको भार। सडक किनार, सामुदायिक स्थल, खोला–नाला र बस्ती वरपरका क्षेत्र अहिले फोहोरको थुप्रोले भरिएका छन्।
एकातिर नगरपालिका ‘शून्य फोहोर अवधारणा’ कार्यान्वयनको दाबी गर्छ, अर्कातिर बासिन्दाले नाक थुनेर हिँड्नुपर्ने अवस्था छ। घोषणाको सुँगुरजस्तै फुच्चे प्रभाव देखिएको छ, तर जरा गाडेर स्थायी सुधारको काम अझै अधुरै छ।
स्रोतमै समस्या: वर्गीकरणविहीन फोहोर
सबैभन्दा ठूलो समस्या घर–घरमै सुरु हुन्छ। अधिकांश घरमा फोहोर जैविक र अजैविक छुट्याएर नफालिने भएकाले प्लास्टिक, सिसा, कागज, धातु र कुहिने वस्तु सबै मिसिएर गएका छन्। यस्तो फोहोर न पुनःप्रयोग गर्न मिल्छ, न सिधै प्रशोधन।
चन्द्रागिरी नगरपालिकाले २०७९ मा ‘शून्य फोहोर अवधारणा’ सार्वजनिक गर्यो। २०८० सालदेखि छ रंगको झोला प्रणाली लागू गरिएको घोषणा भयो ।
कालो झोला: कुहिने फोहोर,रातो झोला: सिसाजन्य,हरियो झोला: प्लास्टिकजन्य,सेतो झोला: कागज,नीलो झोला: धातु/कवाडी,पहेँलो झोला: स्यानिटरी र डाइपरजन्य
तर, वडामा झोला वितरण ढिलो छ। कतिपय टोलमा जानकारीसमेत पुगेको छैन। फोहोर फाल्न झोला चाहिन्छ भन्ने चेतना अझै धेरै नागरिकमा विकसित भएको छैन।
सङ्कलन प्रणालीमा समन्वयको अभाव
फोहोर उठाउने जिम्मेवारी केही वडामा निजी संस्थासँग छ भने कतै नगरपालिका भित्रै अागाे लगाएर नष्ट गर्ने र खाेलामा हाल्ने गरिएकाे छ । कतिपय बस्तीमा दैनिक उठ्नुपर्ने फोहोर हप्तौँसम्म थन्किन्छ।
फोहोरको अस्थायी थुप्रोबाट दुर्गन्ध, किरा, संक्रमण र आक्रोश फैलिन्छ। विशेषतः वर्षायाममा नाला थुनिने र सडकमा फोहोर बग्ने दृश्यले नगरको छवि नै धूमिल बनाइरहेको छ। वडा स्तरहरूमा नाला सफाई गर्दा निस्कने दुर्गन्धित फाेहाेर प्लास्टिक र सिसा जन्य वस्तु महिनाै देखि सडक पेटिमा थन्किरहेका छन् । कसैलाई उठाउन समेेत चासाे देखिदैन भने जनप्रतिनिधि देखेर पनि त्यहि बाटाे हिड्दा नदेखेकाे जस्तो गरि हिड्ने परिपाटी बनेकाे छ ।
खोलामा फोहोर, जंगलमा डढेलो
नगरभित्र बग्ने खोल्सामा प्लास्टिक, लत्ता कपडा र स्यानिटरीजन्य वस्तु जथाभावी फालिएको देखिन्छ। खोला नाला नियमित सफा गर्ने भनिए पनि त्यो स्थानीय दबाबपछि मात्र सक्रिय हुने गरेको छ।
यसैगरी, वन क्षेत्रमा डढेलो रोकथाममा पनि नगरको भूमिका कमजोर देखिएको छ। सचेतना अभाव, निगरानीको कमी र तालिम नहुँदा हरेक वर्ष वनजंगलमा आगलागी हुने घटना बढिरहेको छ।
व्यवस्थापनका प्रयासहरू: घोषणामै सीमित?
चन्द्रागिरी नगरपालिकाले फोहोर व्यवस्थापन र वातावरण संरक्षणका लागि विभिन्न योजना अघि सारेको छ। तीमध्ये केही यसप्रकार छन्:
१.नगरभित्रै फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा
२.डस्टबिन राख्ने र समयमै उठाउने
३.बिरुवा रोप्ने र तारवार लगाएर संरक्षण गर्ने
४.विद्युतीय सवारीसाधन प्रवर्द्धन
५.पार्क संरक्षण र प्लास्टिकमुक्त अभियान
६.कंलकी–थानकोट–नागढुङ्गा सडकखण्डमा सवारीबाट फ्यालिने फोहोर नियन्त्रण
७.फोहोर सही व्यवस्थापन गर्ने नागरिकलाई पुरस्कार दिने
८.समूह बनाएर वृक्षरोपण र ५ वर्षसम्म संरक्षण गर्नेहरूलाई पुरस्कृत गर्ने
९.सुरक्षा निकाय र नागरिकलाई वातावरणीय तालिम दिने योजना
तर अधिकांश कार्यक्रम कागजमै सीमित छन्। कार्यान्वयन नभएको, अनुगमन नगरेको, मूल्यांकन नपुगेको योजना ‘कार्यक्रम भएजस्तो देखिने’ प्रयास मात्रै बनेको छ।
हेतु: अब घोषणाबाजी होइन, कार्यान्वयनमा जाने बेला
यो फिचर तयार पार्नुको उद्देश्य यति मात्र हो: समस्या मात्र होइन, समाधान पनि देखाउनु। योजना कहिले कार्यान्वयन हुन्छ भनेर प्रश्न उठाउनु। नागरिक सहभागिता आवश्यक छ भन्ने सन्देश दिनु।चन्द्रागिरीलाई सफा, हरित र दिगो नगर बनाउने प्रयासलाई बलियो बनाउनु। विश्व वातावरण दिवस यही सन्देश दिन्छ‘परिवर्तन अरूले गर्छन् भनेर पर्खिनु होइन, आफूले सुरु गर्नुपर्छ।’
वातावरण बचाउन अब कामले बोल्नुपर्छ
चन्द्रागिरिको फोहोर संकट समाधान गर्न एकपक्षीय योजना र राजनीतिक भाषण काफी छैन। अब सामूहिक जागरण, स्पष्ट कार्यान्वयन, नियमित अनुगमन र नागरिकको सक्रिय सहभागिता आवश्यक छ।
शून्य फोहोर, हरित चन्द्रागिरी भन्ने सपना अहिले पनि साकार हुनसक्छ—
यदि हामी सबैले साँचो अर्थमा सरसफाइलाई संस्कार बनायौं भने। चन्द्रागिरिमा रहेका सामाजिक संघ संस्था, नेतृत्व व्यक्तित्व प्रदान गर्ने जेसिज,लायन कल्व रेडक्रस,युवा समूह लगायत विभिन्न सामाजिक सस्थाहरूले वार्षिक रूपमा टाेल सरसफाइ समेत गर्दै सन्देश प्रवाहित गरेपनि क्षणिक र दिगाे पन हुनु सकेकाे छैन् ।
चन्द्रागिरीमै बन्न थालेका ‘eco Bag’, प्लास्टिकको विकल्प खोज्दै शहर
विश्व वातावरण दिवसको अवसर पारेर चन्द्रागिरीमा उत्पादन भइरहेका ‘eco Bag’ हरूले प्लास्टिकजन्य प्रदूषणको समाधानतर्फ आशाको किरण देखाएका छन्। वातावरणमैत्री दृष्टिकोणले उत्पादन गरिने यी झोलाहरू यदि पूर्णरूपमा प्रयोगमा ल्याइएमा प्लास्टिक झोलाको प्रयोगबाट हुने क्षतिको करिब आधा समस्याको समाधान हुन सक्ने विज्ञहरूको भनाइ छ।

चन्द्रागिरी नगरपालिका अन्तर्गतका केही लघु उद्यमहरूले हालै ‘ECO Bag’ उत्पादन गर्न थालेका हुन्। यी झोलाहरू कपडा र पुन: प्रयोग गर्न मिल्ने जैविक पदार्थबाट बनाइन्छन्। यस्ता झोलाहरू पानीमा गल्ने, वातावरणमै असर नगर्ने, सजिलै पुनः प्रयोग गर्न सकिने विशेषताका कारण लोकप्रिय बन्दै गइरहेका छन्।
स्थानीय उत्पादन, स्थानीय समाधान
स्थानीय उद्यमी शिवराम गिरी अनुसार, “हामीले वातावरणीय क्षति कम गर्ने लक्ष्यका साथ EC Bag उत्पादन थालेका हौं। यदि जनताले यही झोला प्रयोग गरे, कम्तिमा पनि सहरको फोहोरको ठूलो हिस्सा घटाउन सकिन्छ।” उनका अनुसार अहिले दैनिक ५०० देखि ७०० थान झोला उत्पादन भइरहेको छ।
वैकल्पिक झोलाको प्रयोगबारे जनचेतना आवश्यक
काठमाडौँ उपत्यकामा दिनहुँ हजारौं थान प्लास्टिक झोला प्रयोगमा आउने गर्दछ। यस्ता झोलाहरूले नदी, ढल, तथा जमिन प्रदूषित बनाउने मात्र होइन, जनस्वास्थ्यमा समेत असर पार्ने गर्छ। वातावरणविद्हरू, भन्छन “यदि हामी सबैले एकै पटक प्लास्टिक छाडेर यस्ता झोला प्रयोग गर्न थाल्यौं भने समस्या आधा घट्छ। तर, यसका लागि स्थानीय सरकारको प्रोत्साहन र जनचेतनाको अभाव मुख्य चुनौती हो।”
नियम भए पनि कार्यान्वयन छैन
नेपाल सरकारले केही वर्षअघि प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरे पनि यसको कार्यान्वयन भने प्रभावकारी छैन। तर, स्थानीय तहले पहल गरेमा यस्तो उत्पादनलाई प्रवर्द्धन गर्न सकिन्छ।
चन्द्रागिरीबाट सुरु भएको यो अभियानले काठमाडौँसहित देशभर फैलिन सके, वातावरण संरक्षणमा ठूलाे टेवा पुग्ने निश्चित छ।